जसले २५ वटा गाडी बोकेरै काठमाडौं भित्र्याए

Thursday, May 9th, 2019 | | देश

इतिहास पढ्न र सुन्न पाइन्छ तर आफू नै इतिहासको साक्षी बनेको सुन्न पाउने व्यक्ति थोरै मात्र हुन्छन्। तिनै थोरै व्यक्तिमध्येका एक हुन् हिराबहादुर घलान।

मकवानपुरको थाहा नगरपालिका–५ तसर निवासी घलानले ८७ वटा हिउँद र वर्षा भोगेका छन्। जीवनमा अनेकौँ उतारचढाव पार गरेका घलान अहिले एक्ला त्यस्ता व्यक्ति हुन्, जो नेपालको एउटा सिंगो इतिहासका प्रत्यक्ष साक्षी बनेका छन्।

अहिले राजधानी काठमाडौंमा दैनिक १० लाखभन्दा बढी सवारीसाधन गुड्छन्। सिमित र साँघुरा सडकमा धेरै गाडी गुड्दा यहाँको ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त बनेको छ। तर, देशको केन्द्रीय राजधानी काठमाडौंमा कुनै बेला शासकहरुले मात्रै सवारीसाधन चढ्थे। राणा शासकहरुका लागि आवश्यक सवारीसाधन मकवानपुरको भीमफेदीदेखि बोकेर चित्लाङ हुँदै काठमाडौं भित्र्याइन्थ्यो।

राणा शासकहरुका लागि गाडी बोकेर काँध खियाउने भरियाहरुमध्ये अहिले एक जना मात्रै जीवित छन्। उनै हुन् हिराबहादुर घलान्। गत माघ २८ गते सोही गाउँ निवासी जुक्तबहादुर वाइबाकोे निधन भएपछि अहिले घलान एक जनाले मात्रै नेपाली इतिहासको एउटा सिंगो कालखण्डको प्रतिनिधित्व गरिरहेका छन्। जुक्तबहादुर पनि घलानसँगै गाडी बोक्ने काममा संलग्न भएका थिए। घलान यो गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक हुन्।

हिराबहादुर घलान अर्थात् गाडी बोक्ने मान्छे। घलान नै गाडी बोक्ने पहिलो पुस्ता भने होइनन्। उनका बुबाले पनि गाडी बोक्थे। आफ्नो बुबाले गाडी बोकेको थाहा पाएर आफूमा गाडी बोक्ने जाँगर र आँट पलाएको घलान बताउँछन्।

‘हाम्रा बा पनि गाडी बोक्ने रहेछन्, त्यसैले हामी पनि बोक्ने भनेर सल्लाह गरेर गएको हुँ’, हिराबहादुर भन्छन्।

घलानको जन्म मकवानपुरको दुर्गम गाउँ तसरमा भएको हो। काठमाडौंबाट फर्पिङ, कुलेखानी हुँदै करिब ३ घण्टा (मोटरसाइकल) को यात्रापछि घलानको गाउँ तसर (पुरण्डी) पुग्न सकिन्छ। सवारीसाधन रोकेर करिब ५ मिनेटको उकालो पैदल यात्रापछि घलानको घर आइपुग्छ। केही महिनाअघि हामी पुग्दा घलान आँगनमा सुतेर घाम तापिरहेका भेटिए।

‘बाजे नमस्कार !’

मेरो आवाज सुन्नासाथ घलान जुर्मुराउँदै उठेर नमस्कार फर्काए।

१३ वर्षमै घर छोडेर वीरगञ्ज

मकवानपुरको दुर्गम गाउँ। भीरपाखाको जग्गा जमिन। हातमुख जोर्न सहर र मधेश पस्नुपर्ने बाध्यता। तिनै बाध्यता पछ्याउँदै घलान १३ वर्षकै उमेरमा मधेश झरे। घलानले गाडी बोक्नुभन्दा पहिले नै गाडी चढेका रहेछन्। काम गर्न वीरगञ्ज जाने सिलसिलामा उनले पहिलोपटक मोटरमा टेक्न पाए।

‘सबैभन्दा पहिले कहिले गाडी बोक्नुभयो?’

प्रश्न सुन्नासाथ घलानले आफ्ना अतीतका दिनहरु सम्झिए, ‘म सानैमा मोटर चढेर वीरगञ्ज गएको हुँ, त्यहाँबाट फर्केर गाउँ आएपछि मात्रै मोटर बोक्न थालेँ।’

त्यसबेला अहिलेजस्तो सवारीसाधनको ब्राण्ड थाहा थिएन। त्यसो त उनीहरु साना मोटर र ठूला मोटर भन्ने गर्दथे। कामकै सिलसिलामा त्यसैबेला उनी दिल्ली, बम्बईदेखि कलकत्तासम्म पुगेर पाखुरा खियाएको सम्झिन्छन्। पहिले नै मोटर चढ्न पाएकाले उनलाई मोटर बोक्नु खासै नौलो लागेन।

हलुका गाडी १२ दिन, गह्रौँ २५ दिन

घलानले वि.सं. २००६ सालदेखि गाडी बोक्न थालेका हुन्। उनले आफू १८ वर्ष हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी २५ वटा गाडी बोके। अहिले हेटौँडा, कुलेखानी हुँदै मोटरबाटो काठमाडौं पुग्न करिब ३ घण्टा लाग्छ, त्यतिबेला गाडी बोकेर ल्याउँदा कति समय लाग्यो होला?

‘हलुका गाडी १२ दिनमा पनि पु¥याउन सकिन्थ्यो, गह्रौँ गाडीलाई भने २५ दिनसम्म लाग्थ्यो’, घलानले आफ्नो अतीत स्मरण गरे।

सानो गाडीलाई थोरै र ठूलो गाडीलाई धेरै समय लाग्ने होला भन्ने मेरो कल्पनाविपरीत घलानले भने, ‘गाडी कति हलुका र कति गह्रौँ भन्नेमा भर पर्छ।’

यसरी काँधमा बोकिन्थ्यो गाडी
घलानले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जति बोके। बाँकी साना गाडीहरु भने ३२ जनाले बोकेको उनी सम्झिन्छन्। एउटा सिंगो गाडीलाई कसरी बोक्ने त ? सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरु निकालिन्थ्यो। त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठूल्ठूला पोल जस्ता नोलहरु राखिन्थ्यो। त्यसमा साना नोलहरु राखेर बाबियोको डोरीले कसेर नोल र गाडी एक ढिक्का हुने गरी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरियाहरु बस्थे। अनि एकसाथ बल गरेर होस्टे हैंसे गर्दै बोकिन्थ्यो।

गाडी बोक्ने काम भरियाहरुको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो। उनीहरुले नै भरिया छनौट गर्नेदेखि अन्य व्यवस्थापनका कामहरु गर्थे। हलुका गाडी पर्याे भने उनीहरुले एकैदिनमा कुलेखानीसम्म पनि ल्याई पु¥याउँथे। गाडी बोक्न भीमफेदी, सानो फाखेल, ठूलो फाखेल, तोक्मार, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङदेखिका स्थानीय भरिया जाने गर्थे।

ऊबेला आफ्नो गाउँमा मात्रै ४८ जना गाडी भरिया रहेको घलानको भनाइ छ।

गाडी बोकेर चन्द्रागिरि चढ्ने मान्छेहरुले के खान्थे त ? प्रश्न गर्न नपाउँदै घलानले जवाफ फर्काए, ‘के खानु जाँड, रक्सी, मासु, ढिँडो, रोटी यस्तै यस्तै।’

उनका अनुसार त्यसबेला ५ पैसाको मासु र ४ पैसाको फापरको रोटीले अघाउञ्जेल खान पुग्थ्यो। कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे। यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिँडो बनाएर खाने गरेको घलानको अनुभव छ। गाडी मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरु घरमै बास बस्न आउँथे। अरु दिन भने उनीहरुको बास गाडी रोकिएकै ठाउँका स्थानीय होटल र घरहरुमा हुन्थ्यो।

भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पु¥याइन्थ्यो। पहिले जहाँबाट गाडी बोकेर भित्र्याइन्थ्यो अहिलेका पुस्ता त्यहीँ पुगेर चन्द्रागिरि केबलकार चढ्छन्।

गाडी बोक्न कति गाह्रो हुन्थ्यो त ? संक्षिप्त जवाफ दिन रुचाउने घलान सम्झिन्छन्, ‘गाह्रोसँगै रमाइलो पनि हुन्थ्यो।’

त्यतिबेला अहिले जस्तो जुत्ता थिएन। उनीहरू खाली खुट्टै गाडी बोक्थे त ? होइन, उनीहरु परालको जुत्ता लगाउँथे। गाउँभरि परालको जुत्ता बनाउने जिम्मा पनि घलानकै हुन्थ्यो। त्यसो त हरेकले घरबाट परालको मुठो बोकेर जान्थे।

गाडी बोकेर उकालो ओरालो गर्दा परालको जुत्ता कति दिन टिक्ला ? घलान भन्छन्, ‘बल्लतल्ल एक दिन टिक्थ्यो।’

यसरी काँध खिइने गरी गाडी बोकेबापत उनले ९ रुपैयाँ पाउँथे। त्यो पैसाले खाने कुरा किन्ने गरेको घलान बताउँछन्। उनीहरुलाई काममा लगाउने र पैसा दिने मान्छे भने कुलेखानीतिरका नाइकेहरु थिए।

गाडी बोक्ने चलन कसरी सुरु भयो?

काँधमा गाडी बोक्नेहरुमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन्। काठमाडौंमा गाडी लैजाने कुरा कसरी सुरु भयो त ? यस बारेमा घलानले आफूले सुनेको कुरा भन्दै एउटा कथा सुनाए।

‘मैले सुनेको कुरा है !’ सुरुमै सचेत हुँदै उनले आफूले सुनेका कुराहरु बताउन थाले। त्यसबखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे। पछि उनी गाडी चालक पनि भए। उनै कुलबहादुरले दरबारमा गई काठमाडौंमा गाडी भित्र्याउन पाए शासकहरुलाई सुविधा हुने कुरा सुनाए।

उनको कुरा सुनेर चकित भएका शासकहरुले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए। उनले नै अमलेखगञ्जदेखि भीमफेदीसम्म गाडी चलाएर ल्याउँथे। भीमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे। गाडी थानकोट आइपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरबारसम्म पु¥याउँथे।

१५ वर्षमा विवाह, १४ जना सन्तान

घलानको विवाह १५ वर्षको उमेरमा गाउँकै ठूलीमाया घलानसँग भयो। दुवै जना गाउँकै भएकाले उनीहरुबीच दिनहुँजसो भेटघाट हुन्थ्यो। यसैक्रममा उनीहरुले एकअर्कालाई मन पराए र मागी विवाह गरे। हिराबहादुर भन्दा १७ दिनले जेठी छिन् ठूलीमाया। विवाहको प्रसंग निस्किनासाथ यी दम्पतीको चाउरिएको चेहरामा एकाएक चमक छायो। हिराबहादुरसँग जीवनको अतीतहरु खोतलिरहँदा ठूलीमाया पनि नजिकै बसेर हाँसिरहेकी थिइन्। दम रोगले पीडित ठूलीमायाको आँखा र कान कमजोर छ। तर, उनी हरेक प्रश्नमा हाँस्न रुचाउँछिन्।

वैवाहिक जीवन कथा सुनाउँदै उनले भने, ‘बूढाको बूढी, बूढीको बूढा सँगै बस्ने त हो नि!’

हिराबहादुरको कुरा सकिन नपाउँदै ठूलीमायाले थपिन्, ‘एक बार मर्नैपर्छ, निधारमा के लेखेको छ, मेट्न सक्दैन।’

अहिले उनीहरुका २ छोरा र ३ छोरीसहित १४ जना सन्तती छन्। घलान दम्पती लेखपढ गर्न जान्दैनन् तर उनले छोराहरुलाई भने पढाएका छन्। उनले मकवानपुर बज्रबाराहीका भक्तबहादुर बलामीलाई ४ रुपैयाँ दिएर छोरालाई पढाउन लगाएको बताए।

जीवनको युवावस्थामा गाडी बोके पनि पछि उनी गाडी चढेर उत्तरको तातोपानीदेखि भारतको दिल्लीसम्म पुगे।

‘म नपुगेको कहाँ होला र’, कुराकानीको सुरुमा निराश देखिएका घलानको मुहारमा यसपछि हाँसो छायो।

विगतमा गीत गाउँन र नाच्न निकै खप्पिस उनी अहिले ती सबैकुरा बिर्सिन थालेको बताउँछन्। ८७ वर्ष संघर्षमय दिन बिताएका घलानलाई मान्छेको जीवन के जस्तो लाग्दो रहेछ त ? ‘धर्म कर्म गर्ने, पाप नगर्ने, झगडा नगर्ने’, घलानले संक्षिप्त जवाफमै जीवनको सम्पूर्ण परिभाषा दिए।

‘मर्छु कि’ भनेर चिन्ता गर्ने घलानले आफ्ना सन्ततीका लागि बाँच्न चाहेको बताए।

घलान दम्पतीको दैनिकी अचेल घर आँगनमै बित्छ। घलानलाई यही हुनुपर्छ, यस्तै गर्नुपर्छ भन्ने केही लाग्दैन अचेल। सरकारले दिएको वृद्धभत्ताले निकै राहत पुगेको उनी बताउँछन्, ‘भत्ताले धेरै राम्रो गरेको छ, बढाइदियो भने यो सरकारको भलो होस्, जय होस, मान बढोस्, झन ठूलो होस् भनेर आशीर्वाद दिन्छु।’

पछिल्ला केही सातायता उनलाई खोज्दै भेट्न जाने मान्छेहरु पनि बढेका रहेछन्। नयाँ–नयाँ मान्छेहरु आफूलाई खोज्दै आएको देख्दा अचम्म मान्छन् घलान। विगतमा जे जस्ता दुःख कष्ट गरे पनि अहिले नयाँ मान्छेहरु भेट्न आउँदा घलानलाई ठूलै काम गरेजस्तो लाग्छ।

नेपाली इतिहासको एउटा सिंगो कालखण्डको प्रतिनिधित्व गरिरहेका घलानको दीर्घायुको कामना!

थप अरु