नेपालमा ‘फानी’को प्रभाव देखियो मौसमविद् भन्छन् ‘दुई दिन हिमालबाट झर्नुस्, हिमाली क्षेत्रमा फ्लाइट गर्दै नगर्नुस्’

Friday, May 3rd, 2019 | | देश

काठमाडौँ– मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन् । फानीकै प्रभावका कारण मौसममा बदली आउनुका साथै हुरी बतास र वर्षा हुन थालेको उनीहरुको भनाई छ ।

उनीहरुका अनुसार काठमाडौँ उपत्यकासहित पुर्वी भागको मौसम शुक्रबार १० बजेपछि बदलिएको छ । शुक्रबार बिहानैबाट चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परेको तथा मध्य क्षेत्रमा अध्यायारो भएको मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।

मौसमविद् पोखरेलका अनुसार शुक्रबार र शनिबार त्यसको असर नेपालमा पर्नेछ ।

‘नेपालमा फानीको प्रभाव देखिन थालेको छ । यसको यसर मौसम नखुल्ने तथा भीषण पानी पर्ने हुरी चल्ने र हिमाली क्षेत्रमा भारी हिमपात हुनेछ । यसबाट बच्न सवैलाई सचेत हुन हामीले आग्रह गरेका छौँ,’ मौसमविद् पोखरेलको भनाई छ । उनका अनुसार मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिवार हिमाली जिल्लामा हवाई उडान रोक्न सम्बन्धित निकायलाई जानकारी दिइसकेको छ ।

‘आज र भोली हिमाली जिल्लाको उडान गर्न पटक्कै मिल्दैन । साथै हिमाल आरोहरणमा गएकाहरुलाई पनि तल झर्र्नु अनिवार्य छ’ मौसमविद् पोखरलले बताइन् ।

जल तथा मौसम महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्रमा फानीको असर र मध्यक्षेत्रमा फानी र पश्चिमी वायु मिक्स भएको छ । जसको प्रभाव प्रभाव विस्तारै बढ्दै जानेछ ।

मौसमविद् पोख्रेलका अनुसार शुक्रबार देशभरीकै मौसम खुल्ने सम्भावना छैन । उनका अनुसार आइतबारसम्म पनि त्यसको प्रभाव रहिरहन सक्ने भएकाले सचेतना फैलाउन जरुरी छ ।

यता, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले पनि शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ।

थप अरु