राष्ट्रपति चीन भ्रमण टोलीको अमर्यादित ‘फोटोग्राफी’, सामाजिक सञ्जालमा विरोध

Friday, April 26th, 2019 | | राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीको जारी राजकीय चीन भ्रमणमा भ्रमण टोलीका सदस्यहरुले कतिपय सन्दर्भमा कुटनीतिक मर्यादा कायम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ।

अशोभनीय हर्कत देखिने कतिपय तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

राष्ट्रपति भण्डारी नेतृत्वको भ्रमण दल चीनको सान्सी प्रान्तमा ओर्लेलगत्तै भ्रमण टोलीका सदस्यहरुको मर्यादा विपरित र असुहाउँदिला क्रियाकलापको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन्।

बुधबार (११ बैशाख) चीनका लागि प्रस्थान गरेकी राष्ट्रपति भण्डारीको चीन भ्रमण सान्सी प्रान्तबाट सुरु भएको हो। तर, राष्ट्रपति भण्डारी सवार नेपाल वायुसेवा निगमको सोमबार दिउसो नै त्यहाँस्थित विमानस्थल ओर्लंदाको जुन तस्विर सार्वजनिक भयो, त्यसपछि सामाजिक सञ्जालमा भ्रमण दलका सदस्यहरुको आलोचना सुरु भयो।

राष्ट्रपति भण्डारी जहाजबाट विमानस्थलमा ओर्लंदा भ्रमण दलका अन्य सदस्यहरुले राष्ट्रपतिको कुनै मर्यादा नराखेको तस्विरमा देखिन्छ। राष्ट्रपति भण्डारी विमानको भर्याङबाट झर्दै थिइन्, उनी झरिनसक्दै उनीसँगै भ्रमण दलका सदस्यहरु ग्वारग्वार्ती पछि पछि झरिरहेका देखिन्छ। कोही भने सेल्फी खिच्न व्यस्त देखिन्छन्।

‘उच्चस्तरीय भ्रमणमा विमानको भर्याङवाट राष्ट्रपति महोदयाको प्रोटोकललाई समेत ध्यान नदिई भर्याङ नै भाँचिन सक्ने गरी शिष्टाचारबिहीन नेपाली प्रमण्डलको भीड राष्ट्रपतिको पछि पछि संगसंगै भर्याङबाट उत्रिएर मर्यादाहिन अशिष्टता प्रदर्शन गरेको शोभनीय देखिएन’ यस्तो तस्वीर सार्वजनिक भएपछि राप्रपा (संयुक्त) का नेता सुरेशप्रसाद आचार्यले फेसबुकमा लेखेका छन्, ‘मल वा डिपार्टमेण्ट स्टोरमा झैँ विमानको भर्याङमा नेपालीहरूको ठेलमठेल भीड लाग्दा निम्ता गर्ने चिनीया पक्ष नै लाजले भुतुक्कै भए होलान्।’

विदेश मामिलाका जानकारसमेत रहेका आचार्यका भनाईमा, अति विशिष्ट व्यक्तिहरू विमानबाट बाहिर निस्की भर्याङबाट तल ओर्लेर जमिनमा नपुग्नुञ्जेलसम्म अन्य कुनै पनि व्यक्ति विमानको भर्याङमा उभिनु वा ओर्लिनु उच्चस्तरीय भ्रमणको अनुशासन विपरित हो। ‘सुरक्षाका दृष्टिमा समेत त्यस्तो कार्यलाई गलत मानिने गरेको छ’ उनले लेखका छन्, ‘हाम्रा सरकारी अधिकारीहरूले भ्रमणको शिष्टाचार कहिले सिक्ने हो। मलाई नै लज्जावोध भयो।’

भ्रमण दलका सदस्यहरुको यस्तो अशोभनीय कृत्यप्रति सुरक्षा मामिलामा कलम चलाउँदै आएका नेपाली सेनाको पूर्व उपरथी बिनोज बस्न्यातले पनि ट्वीटरमार्फत् आलोचना गरेका थिए। बिहीबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाइ मेन्सन गरेको ट्विट शुक्रबार बिहान डिलिट गरेका छन्।

अंग्रेजी दैनिक द काठमाडौँ पोष्टमा कुटनीतिक मामिलामा रिपोर्टिङ गर्ने पत्रकार अनिल गिरिले पनि भ्रमण दलका सदस्यहरुको उक्त हर्कतको आलोचना गरेका छन्। ‘भर्याङ नै भाँचिने गरी यसरी त नझरेको भए हुन्थ्यो नि’ ट्वीटरमा उनले लेखेका छन्, ‘मल या डिपार्टमेन्ट स्टोरको भर्याङबाट झरेजस्तो यो दृष्य देखेर चिनियाहरूले के बुझे होलान्? कम्तिमा राष्ट्रपति जमिनमा ओर्लेपछि झर्नु पर्ने हो। कसले सिकाउने हामीलाई?’

राष्ट्रपति भण्डारी बिहीबार दिउसो सान्सी प्रान्तको तासियान बौद्ध मन्दिरको अवलोकनमा थिइन्। अवलोकनपछि राष्ट्रपति भण्डारीको भ्रमण दलका सदस्यहरुले सामुहिक तस्वीर खिचाए। सो तस्वीर सरकारी समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समितिमा प्रकासित भयो।

तस्वीरमा राष्ट्रपति भण्डारीको आडैमा देखिन्छन्, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। चीन प्रस्थान गर्ने बेला त्रिभुवन विमानस्थलमा दौरा–सुरुवाल, ढाकाटोपी र कालोजुत्तामा देखिएका मन्त्री ज्ञवालीको शिरमा ढाकाटोपी त देखिन्छ। उनी औपचारिक पाेशाकमा छैनन्। सुट–पाइन्ट लगाएका उनले खुट्टामा चाहिँ नीलो–सेतो रंगको गोल्डस्टार जुत्ता लगाएका छन्। भ्रमण दलका अन्य सदस्यमध्ये कतिले दौरा–सुरुवाल त कतिले भने सुटपाइन्ट लगाएका छन्। तर, उनीहरु सबैको खुट्टामा कालो जुत्ता देखिन्छ।

उच्चस्तरीय भ्रमणमा औपचारिक पोशाक सामान्य विषय हो। भलै, आफूले ट्वीटरमा गरेको पोष्ट ‘सेन्टर फर साउथ एसियन स्टडिज’ का कार्यकारी निर्देशकसमेत रहेका कुटनीतिक मामिलाका जानकार निश्चलनाथ पाण्डेले हटाइसकेका छन्। तर, मर्यादाविपरित देखिने गरी स्पोर्ट्स जुत्ता लगाएको बताउँदै सोही ट्वीटमा उनले मन्त्री ज्ञवालीको आलोचना र व्यंग्य गरेका थिए।

थप अरु