भरतपुर हाइटमा चौधरी ग्रुपको नयाँ होटल ‘फर्न रेसिडेन्सी’

Sunday, April 21st, 2019 | | अर्थ ⁄ वाणिज्य

नेपालको चर्चित व्यावसायिक घराना समूह चौधरी ग्रुपले चितवनमा नयाँ होटल ‘फर्न रेसिडेन्सी’को ‘सफट् लन्च’ गरेको छ।

ग्रुपले मध्यभरतपुरमा बहुउद्देश्यीय ‘सीजी ल्यान्डमार्क बिल्डिङ’मा यही वैशाख ६ गते उक्त होटलको ‘सफ्ट लन्च’ गरेको हो।

राजनीतिक दलका नेताहरुको समेत उपस्थितिमा उक्त होटलको ‘सफ्ट ओपनिङ’ गरिएको चौधरी ग्रुपका जनरल मेनेजर मधुसूदन पौडेलले नेपालखबरलाई जानकारी दिए। होटल ग्रुपको ल्यान्डमार्क बिल्डिङको छैटौँ तलाबाट सुरु हुन्छ।

उक्त बिल्डिङ १० तलाको रहेको छ।

‘फर्न रेसिडेन्सी अहिलेलाई अनौपचारिक रुपमा खोलिएको हो, केही दिनमै व्यावसायिक रुपमा खुल्छ’, पौडेलले भने, ‘औपचारिक ओपनिङका लागि धमाधम काम भइरहेको छ।’

होटलको ओपनिङमा कांग्रेस नेता डा. रामशरण महत, नेकपाका सुरेन्द्र पाण्डे, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्थानीय राजनीतिक दलका नेता, व्यावसायिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

भरतपुर हाइटमा गार्डेन रिसोर्टसँगै रहेको आफ्नै ल्यान्डमार्क बिल्डिङमा ग्रुपले नयाँ होटल सञ्चालन गर्न लागेको हो।

यो होटल ग्रुपकै भारतीय ब्रान्ड ‘फर्न रेसिडेन्सी’को चेन होटल हो। यसमा ४८ वटा कोठाहरु रहनेछन्। उक्त होटल भरतपुरकै उत्कृष्ट होटल रहेको पनि मेनेजर पौडेलले दाबी गरे। त्यसो त ‘ल्यान्डमार्क’ भरतपुरकै अग्लो ‘बिल्डिङ’ हो। बिल्डिङमा मल्टिप्लेक्स, फुड कोर्ट, बालबालिकाहरुका लागि बालमैत्री उद्यान समेत रहेको छ।

यो होटलबाट चितवन उपत्यका पूरै देख्न सकिने पौडेलले जानकारी दिए। होटलको व्यवस्थापन ग्रुपको भारतीय ब्रान्ड ‘फर्न’ले नै हेर्ने उनको भनाइ छ।

फर्नको भारतका ४२ मुख्य मुख्य स्थानमा ५८ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको छ।

भारतीय सहरहरु आग्रा, मुम्बई, अहमदाबाद, पुने, गुजरातजस्ता चर्चित राज्य र स्थानमा ग्रुपले फर्न ब्रान्डका होटलहरु विस्तार गरेको छ।

काठमाडौंमा पनि यो होटल सञ्चालित छ।

थप अरु