लोकप्रिय एप टिकटक गुगलद्वारा भारतमा ‘ब्लक’

Wednesday, April 17th, 2019 | | सूचना/प्रबिधि

भिडियो सेयरिङ एप टिकटकलाई गुगलले भारतमा ‘ब्लक’ गरेको छ।

भारतको सर्वोच्च अदालतले टिकटकबारे २२ अप्रिलमा सुनुवाइ गर्ने बताएको केही घन्टापछि गुगलले लोकप्रिय चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो।

मद्रा उच्च अदालतमा यो विषयमा सुनुवाइ जारी छ। सोही कारण देखाउँदै भारतीय सर्वोच्च अदालतले यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो।

मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो। टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो।

राज्य तह अदालतले माग गरे बमोजिम अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको केही घन्टापछि गुगलले टिकटक ब्लक गरेको हो।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सर्वोच्चले प्रतिबन्ध लगाउन अस्वीकार गरेको सो विषयमा सरकारी अधिकारीहरुले गुगल र एप्पललाई पत्र पठाएर ब्लक गर्न अनुरोध गरेका हुन्। सोहीअनुसार इन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगलले टिकटकलाई आफ्नो सिस्टमबाट भारतमा ब्लक गरेको छ। बुधबार बिहानसम्म एप्पल एपस्टोरमा टिकटक ब्लक छैन।

‘संघीय सरकारको पत्रअनुसार हामीले टिकटकलाई ब्लक गरेका हौं’, गुगल इन्डियालाई उदृत गर्दै भारतीय अनलाइन डिएनएइन्डिया डट कमले लेखेको छ, ‘यो कुनै एउटा व्यक्तिगतविरुद्धको निर्णय होइन। स्थानीय कानुनको पालना हो।’

गुगलको यो निर्णयप्रति चिनियाँ एप डेभलपर कम्पनीले कुनै प्रतिक्रिया जनाएको छैन। एप विश्लेषक कम्पनी सेन्सर टावरकाअनुसार भारतमा टिकटक २४० मिलियन पटक डाउनलोड भएको छ। यसका ३० मिलियनभन्दा बढी प्रयोगकर्ता भारतमा छन्।

जोक, फिल्म र संगीत सम्बन्धित साना भिडियो क्लिप्सका कारण टिक टक भारतमा अत्यन्त लोकप्रिय बनेको थियो।

टिकटक सन् २०१८ को सबैभन्दा लोकप्रिय एप हो। गत अक्टोबरमा अमेरिकामा सबैभन्दा बढी डाउनलोड भएको टिकटक भारत र नेपालमा समेत लोकप्रिय बनेको छ।

थप अरु