रोनाल्डोले ट्याटु खोपेनन्, समाजसेवा रोजे

Monday, April 15th, 2019 | | खेलकुद

विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई माया गर्नेहरु जति छन् उनलाई घृणा गर्ने पनि उत्तिकै छन्। तर समाज सेवाको क्षेत्रमा उनले जे जति योगदान गरेका छन् त्यसलाई नकार्न कसैले सक्दैन।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पले नेपालको जनजीवन अस्तव्यस्त बनेको थियो। भूकम्प पीडितहरुलाई गास, बास र कपासको समस्या थियो।

रोनाल्डोले सेभ द चिल्ड्रेननमार्फत नेपालका भूकम्पपीडित बालबालिकालाई ५० लाख पाउन्ड सहयोग गरे। त्यो रकम सेभ चिल्डे«नले नेपालका बालबालिकाको शिक्षा तथा स्वास्थ्य केन्द्रित रहेर खर्च गरेको छ।

सन् २०११ मा पाएको युरोपिएन गोल्डेन बुट बेचेर रोनाल्डोले प्यालेस्टाइनको गाजामा विद्यालय निर्माणको लागि १२ लाख पाउन्ड सहयोग गरे। गृहयुद्धका कारण गाजाको विद्यालयहरु भग्नावशेष भएका थिए। विद्यार्थीको जीवन अन्धकारमय बनेको थियो।
यी प्रसंगले रोनाल्डोलाई फुटबलसँगै समाज सेवामा समेत चर्चित बनाएको छ।

सेवाकै प्रसंगमा अर्को रोचक र महत्वपूर्ण पक्ष पनि रोनाल्डोसँग गाँसिएको छ। त्यो हो ट्याटुको प्रसंग। विश्व विख्यात फुटबलहरुको शरीरमा ट्याटु देखिनु सामान्य हो। लियोनल मेस्सी, नेमार जुनिएर, डेभिड बेकह्याम, जल्टान इभ्राहिमोभिचजस्ता खेलाडीको शरीरमा आकर्षक ट्याटुहरु छन्।

रोनाल्डो यस्ता फुटबलहर हुन् जसको शरीमा ट्याटु छैन। ट्याटु नभएको विषय उनको समाज सेवासँग जोडिएको छ। उनी समय समयमा रगत दान गरिरहन्छन्।

ट्याटुले रक्तदानमा समस्या उत्पन्न गराउँछ। चिकित्सकहरुका अनुसार ट्याटु खोपेको चार महिनापछि मात्र रगत दान गर्न सकिन्छ। ‘म ट्याटु खोप्दिन किनभने मैले चाँडो–चाँडो रगत दान गर्नुपर्ने हुन्छ’, उनी भन्छन्, ‘ट्याटु खोपको अवस्थामा रक्तदान गरे इन्फेक्सन हुने सम्भावना हुन्छ।’ रक्तदान गरेर समाजमा परिवर्तन ल्याउन सकिने उनको विश्वास छ।

सन् २०१५ मा रोनाल्डोले युरोस्पोर्टसँग भनेका थिए, ‘एक पटकको रक्तदानले हामीले आपतकालीन अवस्थाका तीन मानिसको ज्यान जोगाउन सक्छौं।’ रोनाल्डोले ‘बोन म्यारो’ समेत दान गरेका छन्।

‘एक पटक पोर्चुगिज राष्ट्रिय टोलीका सदस्य कार्लोस मार्टिन्सका छोरा बिरामी परेका थिए’, स्पेनको कडेना कोप रेडियोसँगको कुराकानीमा रोनाल्डोले भने, ‘हामीले उनका छोरालाई मिलेर सहयोग गर्यौं। बोन म्यारो दान गर्न गाह्रो र पीडापूर्ण हुने मानिसहरु बताउँछन् तर यो सजिलो छ।’

कैयौं पटक बोन म्यारो र रक्तदान गरेको उनले खुलाएका छन्। रोनाल्डो इन्स्टाग्राम र फेसबुकमार्फत् बेला बेलामा रक्तदानसहित समाजसेवाका काम गर्न आह्वान गरिरहन्छन्।

थप अरु