हायातमाथि छानबिन गर्दा ठूला शक्तिकेन्द्रबाट दबाब आयोः सापकोटा

Thursday, April 11th, 2019 | | राजनीति

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उप–समितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आएको खुलासा गरेका छन्।

उनले दबाब आए पनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन्।

बुधबार रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा बोल्दै नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको बताए।। उनले भने, ‘हामीले सरकार र अख्तियारलाई सहयोग पुग्नेगरि नै प्रतिवेदन ल्याएका छौं।’

नेता सापकोटाले यो प्रकरणको उजागरणसँगै मुलकमा बहु–आयामिक भ्रष्टाचारको रहस्योद्घाट्न भएको बताए। ‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ। एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन्।’

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी गरे।

सापकोटाले छानबिनको लागि आफूहरुले पटक–पटक गरि १४ वटा बैठक गरेको जानकारी दिए। ‘यो १४ महिनाको अवधिमा हामीले औपचारिक तथा अनौपचारिक रुपमा धेरैपटक छलफल ग¥यौं, सर्वोच्च अदालत, उच्च अदालत र विशेष अदालतका पूर्व न्यायाधीशहरु, कानूनविद् तथा विज्ञहरुसँग सयौं पटक छलफल ग¥यौं’, उनले भने।

उनले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो पोखे। उनले भने, ‘हाम्रो विज्ञ पनि भएनन्। छानबिनको क्रममा हामीलाई विज्ञको अभाव भयो।’

तत्कालीन तारागाउँ विकास समितिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझाबसहितको प्रतिवेदन आफूहरुले बुझाईसकेकोले अब सरकारले सोहीअनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे। उनले भने,‘ह्यात होटेल व्यवस्थित् छ, होटेलको सम्पत्ति दिनदिनै बढिरहेको छ । तर, सरकारको सम्पत्ति घट्दैछ । ३०४ रोपनी जग्गा क्षतविक्षत बनाइएको छ।’

उनले जग्गा क्षतविक्षत बनाउने प्रक्रिया र कागजपत्र मिलाईएको बताए। ‘लिज सम्झौतापनि नेपालीमा एक खालको छ, अनि अंग्रेजीमा अर्कै खालको छ’, उनले भने।

आफूहरुले १४ बुँदे निर्देशन दिएको पनि उनले बताए।

छानबिनको क्रममा आवश्यक कागजपत्र माग्दा अर्थमन्त्रालयले यो धेरै वर्ष पूरानो कुरा हो र यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको भन्दै उनले गुनासो पोखे। उनले भने, ‘हाम्रो सरकारी निकाय जिम्मेवार छैनन् भन्ने कुरा यसले देखाएको छ।’

भू–माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको सुनाए।

शारदा प्रसाद त्रिताल आयोग र आफूहरुको उपसमितिले सरकार र अख्तियारलाई नै सहयोग पुग्नेगरि प्रतिवेदन बाहिर ल्याएको उनको जिकिर छ।

उनले आफूहरुले प्रतिवेदनमात्रै नबुझाएर समाधानको उपायपनि सुझाएको स्पष्ट पारे। फरक प्रसँगमा उनले आफूलाई यो प्रकरणमा दबाब पनि आएको सनसनीपूर्ण खुलासा गरे। उनले भने, ‘पूर्व भूमिसुधार मन्त्री जितु गौतममार्फत मलाई दिनेशलाल श्रेष्ठले भेट्न खोजेको प्रस्ताव आएको थियो। मैले उपसमितिमा आउनुहोस् म बैठकको व्यवस्था गरिदिन्छु भनें। तर, पछि उहाँहरु आउनुभएन्।’

बडे–बडे शक्ति केन्द्रबाट पनि आफूलाई प्रभाव पार्नको लागि दबाब आएको उनले खुलासा गरे । उनले भने, ‘कसैले परिवारमार्फत नै दबाब दिए। कसैले शक्तिकेन्द्रमार्फत दबाब दिए। कसैले त यीनीहरुको ठूलो पहुँच छ, देश तथा विदेशमा पहुँच छ भनेर पनि भने । तर, हामी कसैको प्रभाव र दबाबमा परेनौं। देशको हितमा काम गर्यौं। हामीले आग्रह र पूर्वाग्रहमा राखेर छानबिनमा हात हालेका हैनौं।’

देशलाई केन्द्रमा राखेर र तथ्यमा आधारित भएर सत्य खोज्ने प्रयास गरेको र सोहीअनुसार यो प्रकरणबारे प्रतिवेदन तयार पारेको उनको भनाई छ। प्रतिवेदनबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

थप अरु