अभ्यासमा फर्किए रोनाल्डो

Wednesday, April 10th, 2019 | | खेलकुद

एजेन्सी – चोटका कारण एक महिनादेखि मैदान बाहिर रहेका इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा डच टोली आयक्ससँग खेल्नुअघि रोनाल्डो प्रशिक्षणमा फर्किएका हुन् । च्याम्पियन्स लिगमा आज (बुधबार) राति युभेन्टस र आयक्स भिड्दैछन् ।

रोनाल्डो गत मार्च तेस्रो साता युरो कप छनोट अन्तर्गत सर्वियाविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । उनको तीघ्रामा चोट परेको थियो । रोनाल्डोले आयक्सविरुद्ध खेल्ने प्रशिक्षक मासीमिलानो एलेग्रीले बताएका छन् । ‘रोनाल्डो प्रशिक्षणमा फर्किनु खुशीको कुरा हो ।

उनको आगमनले टोलीलाई उर्जा मिलेको छ । उनले पहिलो रोजाइमा खेल्न सक्ने विश्वास गरेका छौं,’ एलेग्रीले भने । ३४ वर्षीय रोनाल्डोले युभेन्टसका लागि एट्लेटिको म्याड्रिडविरुद्ध कमब्याक जितमा ह्याट्रिक गरेपछि कुनै खेल खेलेका छैनन् ।

च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको पहिलो लेग खेल्न युभेन्टस मंगलबार नै नेदरल्यान्ड्स पुगिसकेको छ । रोनाल्डो सहित स्टार खेलाडीले भरिएको युभेन्टस र युवा खेलाडीको बाहुल्यता रहेको घरेलु टोली आयक्सबीचको खेल रोचक हुने अनुमान गरिएको छ ।

यसैगरी च्याम्पियन्स लिग अन्तर्गत आज राती इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस महारथि बार्सिलोना पनि भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा उत्रँदैछ ।

अन्तिम १६ मा युनाइटेडले फ्रेन्च क्लब पिएसजीविरुद्ध कमब्याक जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई हराउँदै अन्तिम आठमा पुगेको थियो । यी दुई बलिया टोली खेल झनै रोमाञ्चक हुनेछ ।

थप अरु