मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनः पाइप ओछ्याउन सात किमी मात्रै बाँकी

Monday, April 8th, 2019 | | अर्थ ⁄ वाणिज्य

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्र पर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ। सो क्षेत्रमा दुई किलोमिटर पाइप गाडने काम सम्पन्न भइसकेको छ।

तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमिनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम शुरु हुने परियोजनाका इन्जिनियर शरदकुमार पौडयालले बताए। बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ।

सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ। गत माघ ३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार निकुञ्जभित्रका रुख काट्ने काम शुरु भएको छ। सो रुख काटेबापत नेपाल सरकारले निकुञ्जलाई रु एक करोड ९५ लाख तिर्नुपर्ने छ।

उता भारतको मोतिहारीदेखि रकसौल नाकासम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेसनले जनाएको छ। नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुतm रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमिनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।

विसं २०७२ मा नेपाल भारतबीच भएको द्विपक्षीय सम्झौता अनुसार भारतीय आयल कर्पोरेसनले सो पाइप निर्माणको कार्य अघि बढाएको छ। पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको चारवटा ट्यांकीको मर्मत, सम्भार दूर्तगतिमा भइरहेको छ।

जमिनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइलस्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन। यो प्रोजेक्ट सञ्चालनमा आएपछि भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन्। रासस

थप अरु