त्यत्ति महँगो सुनको नेकलेस किन किनें मैले?

Thursday, May 17th, 2018 | | बिचार/ब्लग

खिर के छ यो पँहेलो रंगको धातुमा? कि के छैन र यो सुनमा? देशमा सुन, विदेशमा पनि सुन। जताततै सुनै सुन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउनुअघि नेपालमा सुनकै चर्चा थियो। साढे तेत्तिस किलो सुन कान्डले देशको प्रहरीदेखि राजनीतिक वृत्तसम्म एक किसिमले तरंगित बनेको थियो।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कार्यरत कर्मचारी र प्रहरीको मिलेमतोमा करोडौं मूल्यको सुन तस्करीको गिरोह पर्दाफास भएको थियो।

नेपालको सुन काण्डको चर्चाले राम्रै बजार पाएको हङकङमा फेरि अर्को काण्ड दोहोरियो हिजो। याउमातेइमा नेपालीको फ्ल्याटबाट ४५ लाखको सुन चोरी भएको खबर बुधबार बिहानै हावासरी फैलियो हङकङमा। त्यो खबर यति भाइरल बन्यो कि पढ्ने सबैले सायद आफ्नो सुनको सुरक्षाबारे एकछिन सोचे होला।

वास्तवमा सुन काण्डले हङकङका नेपाली आतंकित बनेको यो पहिलो घटना चाहीँ होइन। तर अहिले यहाँ अन्य सुन काण्ड होइन, चोरी काण्डको मात्र चर्चा गरौं। हङकङमा हरेक दिनजसो सुन चोरिका घटनाहरू सार्वजनिक हुन्छन्। र, धेरैजसो नेपालीको सुन नेपालीद्वारा नै चोरिएको आशंका गरिन्छ।

हामी नेपालीका लागि घर र पैसापछि सम्पन्नताको अर्को प्रतिक सुनका गरगहना हुन्। यस्तो मान्यता आम रुपमा रहेको हुँदा सुनप्रति हङकङको नेपाली समुदायको आकर्षण बढ्दै गैरहेको छ।

मैले पनि केही वर्षअघि तीजका लागि भनेर २१ हजार हङकङ डलर (करिब दुई लाख बीस हजार रुपैयाँ) हालेर सुनको नेकलेस किनेकी थिएँ। जो हालको मूल्यभन्दा लगभग आधा रकम बढी महँगो सुन थियो। त्यसबेला मैले त्यत्ति महँगो मूल्यको सुन लगाउने चाहना किन राखें भन्ने कुराले पनि हङकङका हामी नेपालीलाई सुन कति प्यारो छ भन्ने प्रमाणित गर्छ।

चोरले सुन लगेर छाडेका खाली बट्टा

चोरले सुन लगेर छाडेका खाली बट्टा

नेपाली महिलाले तीजमा मात्र होइन अन्य पार्टीहरूमा पनि दश बीस तोलासम्मका सुनका गरगहना लगाएको धेरै नै देखिन्छ। हङकङका पार्टीहरूमा अहिले एउटा भन्दा अर्कोले बढी वजन भएको सुनका गहना लगाउने भौतिक प्रतिस्पर्धा चलिरहेको हामी सबैलाई थाहा भएकै कुरा हो।

हामी यहाँ दिनरात नभनी काम गर्छौं र हङकङदेखि नेपालसम्म सुनदेखि घर घडेरी जोड्छौं। बचेको पैसाले सुनका गरगहना किनेर राखेको खण्डमा पछि आपत–बिपतमा बेचेर समस्या टार्न सकिने विश्वासले सुनप्रति हाम्रो आकर्षण कहिल्यै घटेन। यस्ता चोरी र लुटपाटका खबर दिनदिनै आइरहे पनि सुनप्रतिको मोह घट्ने देखिँदैन।

मंगलबार साँझ भएको सांघाई स्ट्रिटको घटनाकै कुरा गरौं न। आफ्नो मेहनतले जोडेको सुन त्यसरी चोरी हुँदा कस्तो भयो होला गुरुङ परिवारलाई? अझ पाको मान्छेले दुई दुई ठाउँमा काम गरेर छोरी–बुहारीलाई जोडिदिएको सुनको गरगहना त्यसरी चोरी हुनु कस्तो दुखद।

हङकङमा हामी नेपाली प्रायः सिंढी भएका घरमा बस्छौं, जहाँ लिफ्ट भएका घरमा जस्तो कुनै सेक्युरिटी गार्ड तैनाथ हुँदैनन्। न कुनै सिसि क्यामेरा नै जडान गरिएको हुन्छ। यस्ता घरहरू चोरका लागि सहज बनेका छन् र प्रायः चोरीका घटना त्यस्तै फ्ल्याटमा हुने गरेका छन्। यहाँसम्म कि कतिपय चोरहरु त बाटो कुरेर वा बिल्डिङको सिंढी नै ढुकेर बस्छन् अनि महिलाले लगाएका गरगहना लुछेर भाग्ने गरेका छन्। यस्ता खालका घटनाहरूमा कतिपय अवस्थामा कुटपिट हुने र ज्यान समेत जाने जोखिम पनि हुन्छ।

सुन कसले चोर्यो, कहाँ लग्यो भन्ने अत्तोपत्तो नहुनु त झन् जटिल समस्या हो हङकङको। यस्ता घटनामा अल्पसंख्यक समुदायलाई प्रहरी प्रशासनले पनि खासै चासो दिएको देखिँदैन। चोरी त के शंकास्पद मृत्युलाई समेत वास्ता गरेको देखिँदैन यहाँ। प्रहरीले बेवास्ता गरेका अनेकौं घटना छन् हाम्रा अगाडि।

त्यसैले पनि चोरी भैसकेको सुन फिर्ता होला र चोरले कानुन बमोजिम सजाय पाउला भन्ने अपेक्षा न्यून हुन्छ। अर्थात् जसको चोरी भयो उसले गुमायो, सकियो।

श्रीमतीको गला, नाडीदेखि कान र हातका औंलासम्म झपक्क सुनका गहना लगाइदिन सक्ने लोग्नेलाई हाम्रो समाजमा असल श्रीमान मान्ने चलन छ। श्रीमतीको इच्छा पूरा गर्ने ब्यक्तिलाई सामाजिक रुपमा समेत सम्भ्रान्त ब्यक्तिका रुपमा हेरिन्छ। त्यसैले पनि यहाँ हरेक ब्यक्ति सुन कमाउन चाहन्छ। र, सायद यसको पनि नतिजा होला, सुनको माग बढेको बढ्यै छ नेपाली समाजमा।

सुन, सान र समाज– तीनवटा स मिलेर बनेको नेपाली संस्कारमा सुन उच्च कोटिको धातुमा गनिनु स्वाभाविक हो।

हाम्रो समाज अनुसार सुन कमाउन त जरुरी छ तर त्यो सुनलाई सुरक्षित गर्न नसक्दा त के अर्थ भयोे र? थोरै मोरै एक डेढ तोला सुन लगाएर हिंड्दा समेत बाटैमा चोरी हुने, घाँटिमा लगाएको सिक्री थुत्ने क्रममा चोटपटक लाग्ने अवस्थाबाट कसरी बच्ने भन्ने कुरा सुन लगाउनेले जान्नै पर्छ।

हङकङकै कुरा गर्दा सुन त प्रायः सबै महिलाले लगाउँछौं। तर बढी जोखिममा भने आमा छ्यमाहरु देखिन्छन्, जो झपक्कै सुन लगाएर निर्धक्क हिंडिरहेका भेटिन्छन्। त्यसैले आफ्नो सुरक्षा त छँदैछ, आमा छ्यमाहरुलाई पनि गहना लगाउँदा आइपर्ने खतराबारे सम्झाई बुझाई गर्नुपर्ने अवस्था छ।

सभा समारोह, बिहेदेखि अन्य भोजमा सुनका गरगहना लगाएको देख्दा ‘फलानासँग यति सुन छ’ भन्ने अरु कसैले सहजै अनुमान लगाउन सक्छ। यसले जोखिम झन थप्न सक्छ। सुन जोड्न जति मेहनत र परिश्रम लाग्छ, यसको सुरक्षा उत्तिकै कठिन छ। त्यसैले मेरो घरमा यति गहना छ, हामीले यति गहना किन्यौं भनेर देखाउनु वा सुनाउनु पनि सुरक्षाको दृष्टिकोणले कति उचित हो?

आफ्नो परम्परा र संस्कार अनुसार सुन त प्रयोग गरौं तर सुन र त्यससँगै आफुमाथि निम्तिन सक्ने खतरा सामना गर्ने सुरक्षा विधि पनि जानौं।

अब हङकङमा कसरी जोगाउने त सुन? बैंकमा लकर किन्ने कि बैंककै रोहबरमा राख्ने? कि लकर किनेर घरमै सुरक्षित गर्ने?

आखिर आफ्नो मेहनतले जोडेको धनको सुुुुरक्षाको जिम्मा पनि हाम्रै हातमा जो छ।

थप अरु