पार्टी एकताबारे योगेश : हिम्मत नहुने नेताले सम्बन्ध खोज्दै हिँड्छन्

Wednesday, May 2nd, 2018 | | बिचार/ब्लग

योगेश भट्टराई, सचिव नेकपा एमाले

मैले सम्झेदेखि एमाले पार्टीमा समूहहरू थिए । यी समूहहरू समय समयमा अदल बदल भएका छन् । यसमा विभिन्न तत्वहरूले काम गरेको हुन्छ । यी समूह परिवर्तन हुनमा वैचारिक, राजनीतिक र व्यक्तिगत कुराले काम गर्छ ।

कुनै समय राम्रो सम्बन्ध भएका नेता कुनै समयमा मुख खोल्न पनि नचाहने अवस्थामा पुगेका हुन्छन् । मुख पनि नहेर्ने अवस्थामा रहेका नेताहरू एउटै गुटमा मिलेको देखिन्छन् । एउटै पार्टीमा भएपछि राजनीतिक रूपमा समूहहरू अथवा पत्रकारको भाषामा गुटहरू परिवर्तन नै हुन्छ ।

महाधिवेशन आउँदा होस् अथवा दुरगामी महत्वका घटना हुँदा पार्टीभित्र सम्बन्धहरू बदलिन्छन् । अहिले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताको प्रक्रिया चलेको छ । सरकार बलियो बनेको छ । नेपालका कम्युनिस्टहरूले इतिहासमा नै ठूलो सफलता प्राप्त गरेका छन् । यो सफलता चुनावबाट आएको हो । त्यसमा पार्टी एकताले ठूलो महत्व राख्छ ।

पार्टी एकतापछि महाधिवेशन हुने छ । यस्तो अवस्थामा नेताहरूमा गतिशीलता आउँछ । यो स्वभाविक हो । उच्च तहको नेताहरूले कतातिर उभिँदा आफ्नो ‘पोजिसन’ सुरक्षित हुन्छ भनेर सोच्नु स्वभाविक हो । हिम्मत हुने नेताहरूले आफै नेतृत्व गर्छन् । सानातिना कुरा सोच्दैनन् । आफू नै परिस्थितिको सामना गर्छन् । हिम्मत नहुने नेताहरू यस्तो अवस्थामा सम्बन्ध खोज्दै हिँड्छन् । जसको विचार स्पष्ट हँुदैन, नीति स्पष्ट हँुदैन । त्यस्ता हिम्मत नहुनेहरू सम्बन्ध खोज्दै हिँड्छन् ।

नवौं महाधिवेशनमा जुन ठाउँमा थियौं, हाम्रो पार्टीको पोजिसन जुन ठाउँमा थियो त्यही अवस्थामा यी समूह अहिले त्यही ठाउँमा छन् भन्ने मलाई लाग्दैन । माधव नेपालले नेतृत्व गरेको समूहमा पनि आउने जाने क्रम जारी छ । अर्को केपी ओलीलेले नेतृत्व गरेको समूहसँग आज पार्टी सत्ता र राज्य सत्ताको शक्ति दुवै छ । तर पनि यहाँ पनि ठूलो असन्तुष्टि छ ।
नेकपा एमाले अहिले नै तीन जना प्रधानमन्त्री भएको पार्टी हो । केपी ओली वर्तमान प्रधानमन्त्री हुन् भने झलनाथ खनाल र माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री हुन् । वामदेव गौतम पनि आफूलाई त्यही हाराहारीको नेता सम्झन्छन् । एकता भएपछि प्रचण्ड कमरेड आउनु हुन्छ । नेपालको इतिहासमा चारवटा प्रधानमन्त्री भएको पार्टी हाम्रो हुने छ ।

यहीँबाट नेपाली राजनीतिमा नयाँ तरिकाले सोच्ने कुराको सुरुवात अहिलेबाट नै सुरु भएको छ । के चारचारवटा प्रधानमन्त्री एउटै पार्टीमा बस्न सक्छन् त ? यो चासो र चर्चाको विषय बनेको छ । हिजोका हामी कम्युनिस्टहरूको इतिहास पनि सुखद् छैन । नेतृत्वको बेमल, महत्वकाङ्क्षाले विभाजनको दुखद् पीडा भोग्दै आएका छौं । एमालेको विभाजन र माओवादीभित्रको विभाजन पनि वैचारिक र नेतृत्वको कुरा अथवा पदका लागि विभाजन भए । यो कुरा नेपाली काँग्रेसमा पनि लागू भएको छ ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्राई र गिरजाप्रसाद कोइराला समकालीन नेताहरू हुन् । यी तीन नेता एक ठाउँमा बस्न सकेनन् । किन सकेनन् भने यसमा पनि नेतृत्वको टकराव देखिन्छ । गिरजाप्रसाद कोइरालाको हातमा पार्टी र सत्ता दुवै भयो । अन्य दुई जना नेताहरूलाई त्यही पार्टी काम नलाग्ने भयो । जीवनको उत्तराद्र्धमा कृष्णप्रसाद भट्राई र गणेशमानले आफैले बनाएको पार्टी छोड्नुप¥यो । यसको कारण खोज्नु पथ्र्यो, अध्ययन हुनुपथ्र्यो गरिएन । हामी कम्युनिस्टहरूले यसबाट शिक्षा लिएर एउटै ठाउँमा बस्ने वातावरण बनाउनुपर्छ ।

चार शेर एउटै जङ्गलमा बस्न सक्छन्

कम्युनिस्टहरूमा पनि अब नयाँ अध्याय सुरु हुँदै छ । हामीले देखाउनु पनि छ । एउटै जङ्गलमा चार शेरहरू बसेर जङ्गल र आफ्नो सुरक्षा गर्न महाशेर सङ्गठन बनाउँदैछन् । यो भएपछि जङ्गल सुरक्षित हुन्छ । शेरहरू पनि सुरक्षित हुन्छन् । होइन भने कहिले काहीँ बूढो शेरलाई स्यालले पनि लखेट्छ । हात खुट्टा चल्न छोडेको शेरलाई स्याले पनि लखेट्छ । यस्तो अवस्थामा बुढो शेरलाई सारै हीनताबोध हुन्छ । त्यही हीनताबोधको छटपटीले बेचैन भएर नै शेर मर्छ । हाम्रो नेताहरूले पनि बेचैन, हिनताबोध भएर मर्नुभन्दा अर्को शेरसँग मिलेर अगाडि बढ्नुपर्छ । त्यही भएर एकता हुन आवश्यक छ ।
अब हाम्रा नेताहरूले पनि बुझ्नुपर्छ, बिलौना गाएर बस्नु, बेचैन भएर सकिनु, विकल्पविहीन भएर बस्नु भन्दा मिलेर जानुपर्छ । एउटै जङ्गलमा धेरै शेरहरू मिलेर समझदारीमा काम गर्नुपर्छ । यस्तो गर्दा सबै शेरको रक्षा हुन्छ, हित हुन्छ । यही क्रममा कुन शेर कता कता उभिन्छन् हेर्न बाँकी छ ।

नवौं महाधिवेशनका समूह भत्किसके

नवौं महाधिवेशनमा जुन ठाउँमा थियौं, हाम्रो पार्टीको पोजिसन जुन ठाउँमा थियो त्यही अवस्थामा यी समूह अहिले त्यही ठाउँमा छन् भन्ने मलाई लाग्दैन । माधव नेपालले नेतृत्व गरेको समूहमा पनि आउने जाने क्रम जारी छ । अर्को केपी ओलीलेले नेतृत्व गरेको समूहसँग आज पार्टी सत्ता र राज्य सत्ताको शक्ति दुवै छ । तर पनि यहाँ पनि ठूलो असन्तुष्टि छ । यो विचार समूहले पाउनुपर्ने सबै कुरा पाएको छ । तर पनि असन्तुष्टि छ । बहिर्गमन यहाँ पनि जारी छ । यसलाई गतिको रूपमा बुझेको छु ।

माधव नेपाल र केपी ओली नवौं महाधिवेशनमा एकअर्काका विरुद्धमा उठ्दैनन् होला भन्ने लाग्दथ्यो । तर एकअर्काकाविरुद्ध उभिए । आठौं महाधिवेशनमा माधव नेपालले झलनाथ खनालाई सघाउँछन् भन्ने थियो तर त्यस्तो भएन । यस्ता कुराहरू समय परिस्थितिअनुसार अदलबदल भइरहन्छन् । यी मानिसहरू केपी ओलीलाई सहयोग गर्लान् र भन्ने हामीलाई लाग्थ्यो ? तर त्यो पनि भयो । यही भएर त भनिएको होला राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हँुदैन भनेर ।
पवित्र सिद्धान्तमा मात्र एकता सङ्घर्ष र रूपान्तरण हुन्छ भन्ने छैन । निजी स्वार्थमा पनि गुट परिवर्तन हुन्छ । दुई जनाको स्वार्थ मिलेपछि पनि गुट परिवर्तन हुन्छन् । यही रूपान्तरण हो । यो रूपान्तरण आम मानिसको हितमा, मुलुकको हितमा छ कि दुई जनाको हितमा मात्र छ भन्ने हुन्छ । कतिपय रूपान्तरण सानो घेरामा हुन्छन् । यसको कतै प्रभाव पर्दैन । कैयौं रूपान्तरणले नयाँ जन्माउने हो । नयाँ जन्माउँछ । हामीले नयाँ नै खोजेका हौं । केही रूपान्तरणले नयाँ नजन्माई सेलहरू मरिरहेका हुन्छन् । हामीले अहिले खोजेको रूपान्तरण हो । त्यही रूपान्तरणबाट नयाँ जन्मियोस् भन्ने हो । नयाँ जन्माउन सकियो भने पार्टीको हित हुने छ ।

यिनै परिभाषाभित्र एमालेका नेताहरूको एकता, सङ्घर्ष र रूपान्तरण खोज्नुपर्ने हुन्छ । पार्टीभित्र सधैँ लडाइँ मात्र हुँदैन । सधँै लडाइँ पनि गर्नु हँुदैन । सधैँ लडाइँ हुने भए पार्टी एक कसरी हुन्थ्यो । लडाइँ गौण र एकता प्रधान हो । त्यही भएर त एक पार्टीमा छन् । हाम्रा चारवटै नेताहरूमा कैयौं समान धारण छन् । कैयांै कुरामा एकअर्कामा विमति हुन सक्छन् । यसलाई अन्यथा लिनु हुँदैन ।

अब माधव नेपाल कसरी जान्छन्, त्यसले छिनोफानो गर्छ

आउँदा दिनमा माधव नेपाल, केपी ओलीले कसरी लिडरसिप गर्नुहुन्छ भन्ने कुरा उहाँमा अन्तर्निहित कुरा हो । झलनाथ र वामदेव नेतृत्वमा आउनु हुन्छ कि आउँनु हुँदैन त्यो उहाँहरूको कुरा हो । उहाँबारे हामीले अहिले नै धारणा बनाउन उपयुक्त हँुदैन । उहाँहरूले आफूलाई कसरी प्रस्तु गर्नुहुन्छ त्यसपछि हामीले धारण बनाउँछौ । अहिले धारणा बनाउन हतार नगरौं । कुनै पनि नेताको बारेमा धारणा बनाउनु हँुदैन ।

अब माधव नेपाल, केपी ओली कहाँ उभिन्छन्, त्यसपछि हामीले धारण बनाउने हो । उहाँहरूको विचार के हो ? उहाँका विचारहरू सही लागे अर्को विचार समूह किन बनाउनु । उहाँहरूको विचार अरूलाई मन परेन भने कसैले नचाहँदा नचाहँदै पनि अर्को विचार समूह बन्छ नै । उत्पत्ति हुन्छ नै ।
हाम्रो वामदेवसँग खासै विमति छ्रैन

हामी विश्वभरीका कम्युनिष्टहरू मूलत माक्र्सवादी हुँ । लेनिन स्वयम् माक्र्सवादी हुन् । माओ पनि माक्र्सवादी हुन् । लेनिनले साङ्गठनिक ढाँचा र साम्राज्यवादविरुद्धको क्रान्ति गर्नुभएको हो । हामीले आफ्नो तरिकाले क्रान्ति गरेका छौं । माओले आफ्नो तरिकाले क्रान्ति गरे । भियतनाममा आफ्नो तरिकाले क्रान्ति भयो । हो लेनिनले अक्टोबर क्रान्ति गरेका कारण नै साम्राज्यवादका विरुद्धको पहिलो क्रान्ति थियो । विश्वका कम्युनिस्टले उनीबाट शिक्षा पाएका छन् । नयाँ संसार अथवा नयाँ समाज स्थापना गर्न सकिन्छ भन्ने प्रेरणा पाएको हो । लेनिनको योगदानको कदर सम्मान गर्नुपर्छ, हामी गछौं । एमालेको मार्गदर्शक सिद्धान्त नै माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । हो, लेनिनवादबारेमा बहस हुन सक्छ तर हामी पनि माक्र्सवादी र लेनिनवादी नै हो । यसमा कोही अमुक मानिस लेनिनवादी हुन्, हामी होइनौं भन्ने होइन । यसकारण हामी कम्युनिस्ट हौं भने माक्र्सवादी हौं ।

वामदेव र हामीबीच केही भिन्नता छ भनेर मसिनो तरिकाले हेरेको छैन । हामीले केन्द्रीय समितिमा नहँुदा नै आठौं महाधिवेशनमा नेपाली समाजको विश्लेषण अगाडि सारेका थियौं । यसको नेतृत्व घनश्याम भुसालजीले गर्नुभएको थियो । यसमा देशभरीका युवाहरू थियौं । नेपाली क्रान्तिको चरित्र र नेपाली समाजको चरित्रको बारेमा भिन्न मत आठौं महाधिवेशनमा प्रस्तुत गरेका हौं । त्यो समयमा नै वामदेव कमरेडले न त त्यो प्रस्तावको समर्थन गर्नुभयो न त विरोध नै गर्नुभयो । नवांै महाधिवेशनमा आएपछि उहाँले आएर समर्थन गर्नुभयो । केपी ओली विचार समूहमा भने हामीले आठौं महाधिवेशनमा उठाएका विचारहरूको समर्थन गर्नुभएन । नवौं महाधिवेशनमा केपी ओली बिरामी भएर होला खुलेर हाम्रो विचारसँग बहस गर्न आउनु भएन तर उहाँको विचार समूहका साथीहरूभने हाम्रो विचारका विरुद्धमा बहस गर्न आउनुभयो । तर नवौं महाधिवेशनमा हामीले उठाउँदै आएको बहस अथवा विचार पारित भयो । वामदेवजीले पनि विचार हाम्रो स्वीकार्नुभयो तर प्रमुख नेतृत्वमा ओलीलाई समर्थन गर्नुभयो । महाधिवेशनमा हाम्रो विचार पास भयो तर त्यो विचारलाई नेतृत्व गर्ने अध्यक्षलाई हराइयो ।

एउटै पार्टी भएपछि एक हुन्छन् नि । माक्र्सवाद, लेनिनवाद र जबज भन्नेमा केपी ओली र माधव नेपालबीच मतभिन्नता थिएन र छैन पनि । हामीहरूबीच पनि छैन । तर पनि नेतृत्व एक ठाउँ जोडिन्छ । अझ सैद्धान्तिक र वैचारिक रूपमा जोडिए अझ राम्रो हो । नेताहरू मिल्नु स्वभाविक हो । एउटै गुटमा पनि सबै कुरा मिल्नुपर्छ भन्ने छैन । गुटभित्र पनि आलोचनात्मक चेत हुनुपर्छ । जता नेता फक्र्यो त्यतै सबै फर्कनुपर्छ भन्ने छैन । राजनीतिक गुटमा व्यक्तिगत स्वतन्त्रता हुन्छन् । यो भएन भने त्यो धार्मिक सङ्गठन बन्छ । राजनीतिमा गुट परिवर्तन हुने भनेको राजनीतिक चरित्रका कारण हो । यदि यो सम्बन्ध र गुट परिवर्तन भएन भने त धर्मिक समूह जस्तो हुन्छ । यस्ता परिवर्तन नै नहुने गुट बनाउनु पनि हुँदैन ।

सम्बन्ध वा गुटहरू राजनीति र व्यक्तिगत कारणले हुन्छन् ।

थप अरु