हिन्दुत्व, झण्डा र गाईप्रति नकारात्मक दृष्टिकोण किन ?

Monday, April 9th, 2018 | | बिचार/ब्लग

रातोपाटी डट कमले मङ्सिर ६, २०७४ मा एउटा आलोचनात्मक लेख प्रकाशित गरेको थियो– नेपालको झण्डासम्बन्धी । त्यस लेखमा नेपालको झण्डालाई हिन्दुत्वको प्रतिविम्ब प्रमाणित गर्न केही तर्क पेश गरिएका थिए । त्यसैगरी, चैत २४, २०७४ मा अर्काे आलोचनात्मक लेख मार्फत– गाईको विषयमा केही विषयको उठान गरिएको थियो ।

यी दुवै लेखको आशय– नेपाललाई प्राचीनकालदेखि हिन्दु धार्मिक मूल्यमान्यताले जबरजस्ती जकडेर राखेका छन्, जसले गर्दा अन्य धर्मावलम्बीका अधिकार सङ्कुचित पारिएका छन् भन्ने थियो । लेखमा, हिन्दुत्वका प्रतिकहरूलाई ‘ध्वस्त’ नपारेसम्म नेपालका अन्य धर्मावलम्बीहरूले बराबरीको अवसर पाउने छैनन् भनिएको थियो । दुवै दृष्टिकोणमा फरक दृष्टिकोण पेश गर्ने बहानामा लेखले हिन्दु धर्मसंस्कृतिप्रति प्रहार गरेको महसुस हुन्छ ।

हिन्दुत्वप्रति केही मानिसको दृष्टिकोण धर्मशास्त्रको अध्ययनबाट होइन, समाजमा विद्यमान कर्मकाण्डी व्यवहार र अन्धविश्वासको जगमा निर्माण भएको देखिन्छ । अरूले सुनाएका कुरालाई अन्तिम सत्य मानेर त्यसकै पछाडि कुद्ने तर आफैँ अध्ययन गरेर वास्तविकता पत्ता नलगाउने रोग अझै पनि हाम्रा कलमजीवीमा सङ्क्रमणकै रूपमा फैलिरहेको छ ।

हिन्दुत्व, नेपालको राष्ट्रिय झण्डा तथा गाईको सवालमा जेजस्ता तर्क पेश गरिएका छन्, ती आफैँ एउटा स्वस्थ, प्रगतिशील तथा भाइचारायुक्त समाज निर्माणका लागि अवरोधक बनेका छन् । किनभने आज पृथ्वीमा रहेका हरेक राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक दर्शनहरूको जग हिन्दुत्व नै हो । भौतिकवादी सिद्धान्तको पहिलो प्रणेतासमेत हिन्दु समाज नै हो । गणतन्त्रको अभ्यास पनि हिन्दु समाजले हजारौँ वर्ष अगाडि गरिसकेको थियो । सङ्घीयताको अभ्यास पनि भइसकेको थियो, भलै आजको दिनमा सङ्घीय राज्यको अवधारणा पश्चिमा चिन्तनमा आधारित छ ।

के कुरा सत्य हो भने, नेपालको झण्डा धार्मिक प्रतीकको रूपमा रहेको छ । यसले वर्तमान राजनीतिक परिवर्तनलाई बोकेको छैन तर नेपालका ९५ प्रतिशत सनातन धर्मावलम्बीको धार्मिक आस्थालाई बोकेको छ ।

धार्मिक आस्था राजनीतिक व्यवस्था जस्तो हरेक दस वर्ष वा पाँच वर्षमा बदलिने कुरो होइन । झण्डाले राजनीतिक परिवर्तनलाई मात्रै प्रतिविम्बित गर्नुपर्छ भन्ने विचार केही द्वन्द्वात्मक भौतिकवादीले बोक्दैमा त्यसलाई समाजले ग्रहण गर्नुपर्छ भन्ने छैन । नेपाली समाज द्वन्द्वात्मक भौतिकवादी विचारबाट प्रभावित र प्रेरित समाज होइन, पूर्णतः धार्मिक समाज हो ।

नेपालका किराँतहरूलाई महागुरु फाल्गुनानन्दले सूर्यवंशी भनेका छन् । भगवान बुद्ध पनि सूर्यवंशी नै हुन् । यी दुवै धार्मिक समुदायभित्र सूर्य र चन्द्रमाको उपासना गरिन्छ जसरी हिन्दु समाजले सूर्य र चन्द्रमाको उपासना गर्छ । न त महागुरु फाल्गुनानन्दले, न बुद्धले न त हिन्दु धर्मशास्त्रहरूले नै जीवहत्याको अनुमति दिएका छन् । गाई मात्रै होइन, सबै प्रकारका जीवहरूको हत्या सनातन धर्मको मूल्यमान्यता विपरीत रहेको छ । यहाँनेर सनातन धर्मको अर्थ हिन्दु मात्रै होइन, किराँत, बौद्ध, जैन, बोन, सिख पनि हो ।

झण्डा विवाद

सूर्य, चन्द्रमा अनि रातो रङलाई केवल हिन्दुत्वसँग मात्रै जोडेर हेरिएको छ । तर विश्वको धार्मिक इतिहासले भिन्दै कुरा देखाएको छ । इसाई र इस्लाम पन्थको उदय र अन्य धर्ममाथि अतिक्रमणअघि दुनियाँमा सबैतिर सूर्य र चन्द्रमालाई देवताका रूपमा पुज्ने गरेको पाइन्छ ।

बहस : धर्मनिरपेक्ष मुलुकको धार्मिक झण्डा !
मिश्रहरू, चिनियाँहरू, रोमनहरू, अफ्रिकनहरू आदि सबैको तत्कालीन धार्मिक अभ्यासले सूर्य र चन्द्रमाको अनेक प्रकारले उपासना गर्ने गरेको देखिन्छ । जब दुनियाँमा साम, दाम, दण्ड र भेदको नीति अपनाएर इसाई र इस्लाम पन्थको अतिक्रमण सुरु भयो, तबदेखि सूर्य र चन्द्रमाप्रतिको आस्था एसियाको भूगोलभित्र भारत, नेपाल, चीन आदि मुलुकहरूमा खुम्चिन पुग्यो ।

सूर्य शक्तिको प्रतीक हो । चन्द्रमा ज्ञानको । सूर्य उष्णताको प्रतीक हो । चन्द्रमा शीतलताको । रातो रङ विजयको प्रतीक हो । भिक्षुहरूका चीवर पनि रातो रङका नै हुन्छन् । सूर्य, चन्द्रमा, रातो रङ आदि एकदमै गहन अर्थ बोकेका शब्दहरू हुन् । यिनीहरूको भौतिक, आध्यात्मिक व्याख्याको गहिराइलाई एउटा लेखमा नाप्न सम्भव छैन् । त्यसकारण, यस्ता ब्रह्माण्डीय पदार्थहरूलाई यदि नेपालको झण्डाले प्रतिविम्बित गर्दछ भने यसमा आपत्ति जनाउनु पर्ने किन ?

त्रिकोणात्मक झण्डालाई चतुर्भुजाकार बनाउँदैमा, झण्डाबाट चन्द्र, सूर्य र रातो रङ हटाउँदैमा समस्या समाधान भइहाल्ने हो ? समाजको वास्तविक समस्या आर्थिक समुन्नति हो, झण्डा होइन । राष्ट्रिय झण्डाले अन्य जाति समुदायको अपमान ग¥यो । यसलाई बदलेर सबैलाई समान बनाउँ भन्दै झण्डा बदलेर समाजको आर्थिक, शैक्षिक तथा स्वास्थ्य अवस्था फेरिने होइन ।

यो त समाजलाई जबरजस्ती तरङ्गित पारेर नयाँ द्वन्द्वको बीउ रोप्ने बहानाको खोजी मात्रै हो । विश्वका प्रायः मुलुक जसले झण्डा फेरेका छन्, ती पश्चिमा साम्राज्यवादका उपनिवेश थिए । साम्राज्यवादको अन्त्यपछि स्वतन्त्रता भएका मुलुकहरूले आप्mनो स्वतन्त्र अस्तित्व प्रतिविम्बित हुने झण्डाको खोजी गरेका थिए ।

नेपालका भौतिकवादी कलमजीवीहरू आप्mना तर्कहरूलाई बलियो पार्न तथा लेखहरूको प्रामाणिकता पुष्टि गर्नका लागि युरोप वा अमेरिकाका विद्वानहरूका तर्कको अत्यधिक सहारा लिइरहेका देखिन्छन् । पूर्वीय विद्वानहरूले वा दर्शनशास्त्रहरूले के विचार राखेका छन् भन्ने सम्बन्धमा खोजीचासो राख्ने गरेको पाइन्न् । सधैँभरी हरेक कुराको पुष्ट्याइँका लागि पश्चिमाहरूको भर पर्ने गरेको कारण नै हाम्रो मुलुकले ६ खर्चको ऋणभार बोक्नुपरेको पो हो कि ?

गाई विवाद

ऋग्वेदमा गोमांश भक्षण गर्ने गरिएको तथा गोहत्या गर्ने गरिएको कुरो गाईसम्बन्धी आलोचनात्मक लेखमा लेखक महोदयले उठाउनुभएको छ । मलाई थाहा छैन, उहाँले कसले परिभाषित गरेको वेद पढ्नुभयो वा कसैले सुनाएको भरमा तथ्यका भनेर त्यहाँ पेश गरिदिनु भयो । वेदले कहीँ पनि निर्दाेष व्यक्ति वा पशुमाथि हिंसा गर्ने अनुमति दिएको छैन । प्राणी तथा मानिसको जीवनको बराबर मोल रहेको छ ।
केही व्यक्ति तथा समूहहरूले स्वार्थबस वैदिक शब्दहरूको गलत अर्थ लगाउने गरेको पाइन्छ । यस्तो गलत परिभाषित गर्ने परम्पराको सुरुवात म्याक्समुलरले गरेका थिए र अहिले पनि वैदिक परम्पराका विरोधी तथा हिन्दुत्वलाई मास्न सक्रिय विधर्मीहरूले यस्ता खालका क्रियाकलाप जारी राखेका छन् ।

वेदमा गो शब्द छ । यसको अर्थ गाई मात्रै रहेको छैन । सूर्य, पृथ्वी, अन्तरिक्ष, इन्द्रिय, आमा, स्वर्ग आदिको निम्ति पनि गो शब्दलाई प्रयोग गरिएको छ । यसैगरी, मेध शब्द छ । यसका पनि विविध अर्थ छन्– पवित्र राख्नु, वृद्धि गर्नु, मिलाउनु, हत्या गर्नु आदि ।

गोहत्या र धर्मनिरपेक्ष राज्यसत्ता
वेदमा, यसैगरी, ईन्द्र शब्द रहेको छ । यसले पानी पार्ने देवता, ईश्वर, सेनापति, राजा, विद्वान आदि अर्थ दिएको छ । तसर्थ, मन्त्रको प्रकरण नबुझी शब्दको स्थिर अर्थ खेलाउन खोज्दा त्यसले सही अर्थ दिँदैन किनभने संस्कृत प्राविधिक भाषा हो ।

लेखक महोदयले उल्लेख गर्नुभएको ऋग्वेदको दशौँ मण्डलका सूक्त तथा मन्त्रहरू र तिनको खास अर्थसहित यहाँ पेश गरेको छु । ऋग्वेदमा ईन्द्रले गोरुको मासु खाएको, पशुहरूको बली दिएको तथा गाईको हत्या गर्ने गरेको उल्लेख छ भन्ने गलत प्रचार हो । जुन विशेष गरेर इसाई धर्मप्रचारकले गरेका हुन् किनभने बाइबलमा यस प्रकारका कृत्यहरू गरिएका छन् । तसर्थ, बाइबललाई पनि वेदसरह देखाउने कोसिस उनीहरूको रहेको देखिन्छ ।

(क) ऋग्वेद १०.७२.६– यद्देवा अदः सलिले सुसंरब्धा अतिष्ठत । अत्रा वो नृत्यतामिव तीव्रो रेणुरपायत

अर्थ : यो मन्त्रमा गाईलाई तरबार वा बन्चरो प्रयोग गरी वध गर भनिएको छैन । यहाँ, अन्तरिक्षमा तीव्र गतिका रेणु अर्थात् पिण्डहरू कहिले काहीँ अर्काे पिण्डको नजिक नर्तन गर्दै मतलब घुम्दै पुगे पनि आप्mनो मर्यादामा रहन्छन् भनिएको छ । यस सूक्तमा अन्तरिक्षमा रहेका खगोलीय पिण्डका लागि देवगण शब्दको प्रयोग गरिएको छ ।

(ख) ऋग्वेद १०.८६.१४– उक्ष्णो हि मे पञ्चदश साकं पचन्ति विंशतिम् । उताहमद्यि पीव ईदुभा कुक्षी पृणन्ति मे विश्वस्मादिन्द्र उत्तरः ।।

अर्थ : उक्षा खाएर बलशाली हुने कुरो गरिएको छ, यो मन्त्रमा । यहाँनेर उक्षाको अर्थ गोरु लगाइएको होला । खासमा उक्षा भनेर वीर्य प्रदान गर्ने अर्थात् शारीरिक र मानसिक शक्ति बढाउने भोजनलाई भनिएको हो । वेदले हविष्यान्न, सोमरस, घिउ, दूध आदिलाई वीर्यवान भोजन मानेको छ । यस सूक्तमा सेनाध्यक्ष वा योध्दालाई ईन्द्र भनिएको छ ।

ग) ऋग्वेद १०.९१.१४– यस्मिन्नश्वास ऋषभाष उक्षणो वशा मेषा अवसृष्टा आहुताः । किलालपे सोमपृष्ठाय वेदले हृदा मतिं जनये चारुमग्नये ।।

अर्थ : सधैँ मन र बुद्धिलाई शुद्ध राख्दै कर्ममा रत, आप्mना शत्रुहरूलाई वशमा राख्न सक्ने, वीर्यवान, आपूmलाई पनि वशमा राख्ने, स्पर्धा गरेर अगाडि बढ्ने व्यक्ति बनेर आपूmलाई ईश्वरप्रति समर्पित गरौँ । यसबाट हामी सौम्य हुनेछौँ । हाम्रो शरीरमा रेतःशक्ति रक्षित हुनेछ । यो सूक्तमा अग्निलाई ईश्वर भनिएको छ ।

जहाँसम्म भगवान बुद्धको शिक्षासँग त्रसित भएर हिन्दुहरूले गोमांश त्यागेको भन्ने कथन छ, कुनै पनि हिन्दु धर्मशास्त्रले गोहत्या वा अन्य प्राणीको हत्याका लागि अनुमति दिएको छैन । ऋग्वेद संसारको पहिलो प्रमाणित धार्मिक ग्रन्थ हो । यसको लेखनकाल मात्रै करिब सात हजार वर्षअघिको देखिन्छ ।

ऋग्वेदमा गौहत्या वा जीवहत्या निषेधित रहेबाट हामीले बुभ्mन सक्छौँ, भगवान बुद्धको शिक्षासँग डराएर मात्रै हिन्दुहरूले गौहत्यालाई निषेधित गरेका थिए भन्ने तर्कमा कुनै सत्यता छैन । यदि यो सत्य हुन्थ्यो भने हिन्दुहरूले पनि भगवान बुद्धलेझैँ सबै प्राणीको रक्षा गर भन्थे होलान्, केवल गाईलाई महत्व दिने थिएनन् ।

अन्त्यमा, अमेरिकाले गौमूत्रको पेटेन्ट राइट आप्mनो नाममा गरेको छ र यतिखेर त्यहाँ गौमूत्रमाथि अनुसन्धान चलिरहेको छ । यदि अन्य पशुको तुलनामा पृथक् थिएन भने उसले गौमूत्रको पेटेन्ट राइट आप्mनो नाममा केका लागि ग¥यो ? गौमूत्रमै अनुसन्धान गर्ने जाँगर किन चलायो अमेरिकाले ? के अमेरिकामा अन्य जनावरहरूको मूत्र उपलब्ध नभएको हो र ?

थप अरु