श्रीलंकाविरुद्ध भारत आत्मविश्वासी

Thursday, June 8th, 2017 | | खेलकुद

जेष्ठ २५, २०७४- विराट कोहलीले च्याम्पियन्स ट्रफीमा बुधबार श्रीलंकाको सामना गर्दा पाकिस्तानविरुद्ध प्राप्त जितको जस्तै खेल दोहोर्‍याउन आफ्ना खेलाडीलाई सुझाएका छन् ।

कोहलीको टिमले प्रतियोगितामा राम्रो सुरुआत लिएको थियो, डिफेन्डिङ च्याम्पियनका रूपमा पुरानो प्रतिद्वन्द्वी पाकिस्तानलाई बर्मिङघममा सजिलै १ सय २४ रनले हराउँदै । त्यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै ४८ ओभरमा ३ विकेट गुमाएर ३ स १९ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले वर्षाले प्रभावित खेलमा २ सय ८९ रनको नयाँ लक्ष्य पायो । त्यसअगाडि टोली १ सय ६४ रन मात्र बनाएर अलआउट भयो । कोहली र टिमका प्रशिक्षक अनिल कुम्बलेबीच मतभेद सुरु भएको हल्लाबीच भारतको यो बलियो जवाफ बाहिर आएको हो ।

वान डे क्रिकेटमा कुनै पनि टिमको भाग्य एकै क्षणमा परिवर्तन हुन सक्ने तथ्य पनि कोहलीलाई राम्रोसँग थाहा छ । किनभने पहिलो खेलमा दक्षिण अफ्रिकासँग हारेको श्रीलंका आफैं पनि प्रतियोगितामा फर्कने प्रयासमा छ ।

‘यो प्रतियोगितामा सबै खेल उत्तिकै ठूलो र महत्त्वपूर्ण छ । अहिले हाम्रो टिम युवा खेलाडीले भरिएको छ । उनीहरू भारतीय टिममा आफ्नो स्थिति बलियो पार्न प्रयासरत छन् । त्यसैले पनि मेरो विश्लेषणमा भारतले पाकिस्तानलाई सजिलै हराउन सकेको हो ।

यो जित हाम्रा लागि निकै आत्मविश्वास दिलाउने खालको छ । कप्तानका रूपमा पाकिस्तानविरुद्ध खेल्दा सबै खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु,’ कोहलीले भने । त्यस खेलमा कोहलीले ६८ बलमा ८१ रन बनाए । उनी नटआउट रहे ।

अर्कोतर्फ दक्षिण अफ्रिकाविरुद्धको खेल ९६ रनले गुमाएको श्रीलंका भारतविरुद्ध त्यस्तै खराब प्रदर्शन गर्न चाहन्न । त्यस खेलमा चोटका कारण सहभागी हुन नसकेका एन्जेलो म्याथ्युज फेरि टिममा फर्कने छन् र टिमको नेतृत्व पनि गर्नेछन् ।

‘त्यो हारका लागि सबै खेलाडी जिम्मेवार छन् । को कप्तान हो, त्यो गौण विषय हो,’ म्याथ्युजले भने । सुस्त बलिङकै कारण त्यस खेलमा कप्तान भएका उपुल थारङ्गालाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ ।

बलरको प्रशंसा

कार्डिफ– इङलिस कप्तान इयान मोर्गनले बुधबार आफ्नै बलिङ आक्रमणको प्रशंसा गरेका छन् । न्युजिल्यान्डलाई ८७ रनले हराएर च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेयता मोर्गनको यो भनाइ अगाडि आएको हो । मंगलबारको जितपछि इङल्यान्ड समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल खेल्न फेरि वेल्स राजधानी फर्कन सक्नेछ । उसको अन्तिम चारको प्रतिद्वन्द्वी हुने समूह ‘बी’ उपविजेताको टुंगो लाग्न भने अझै बाँकी छ ।

इङल्यान्ड पहिले ब्याटिङ गर्दै ३ सय १० रन बनाएर अलआउट भएको थियो । त्यसमा जोए रुटले ६४, एलेक्स हल्सले ५६ र बेन स्टोक्सले ४८ बनाए । जोस बटलर ६१ रनमा नटआउट रहे । एक समय लागेको थियो, इङल्यान्डको बनाएको यो स्कोर कम हो । तर तीव्र गतिका बलर मार्क उडले न्युजिल्यान्ड कप्तान केन विलियम्सनको महत्त्वपूर्ण विकेट लिएयता खेल इङल्यान्डको पक्षमा मोडिएको थियो । विलियम्सनले ८७ रन बनाए । उनले ३१ औं ओभरमा विकेट गुमाए ।

विलियम्सनको विकेटसँगै न्युजिल्यान्डको नाटकीय पतन सुरु भयो । न्युजिल्यान्डले अन्तिम ८ विकेट ६५ रनमा गुमाएको थियो । यसक्रम पूरा टिम २ सय २३ रन बनाएर अलआउट भयो । लियम प्लुन्केटले ५५ रन खर्चेर ४ विकेट लिए । जेक बलले ३१ रन खर्चेर २ विकेट लिए र उनी म्यान अफ म्याच रहे । उनले ल्युक रोन्चीलाई शून्यमा आउट पारेका थिए । टिममा फिर्ता बोलाइएका लेग स्पिनर अदिल रसिदले पनि त्यो निर्णय सही साबित गरे । उनले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए ।

खेलपछि कप्तान मोर्गनले माने, आफ्नो टिमले राम्रो स्कोर खडा गर्न सकेन । ‘मलाई लागेको थियो, सायद हामी १० देखि १५ रनले पछाडि छौं । आजभोलिको वान डे क्रिकेटमा ३ सय रन छेउछाउको स्कोर राम्रो नहुन सक्छ । खासमा हाम्रो ब्याटिङ औसतजस्तै रह्यो, उत्कृष्टभन्दा धेरै पछाडि,’ मोर्गनले भने, ‘बलरले धेरै राम्रो गरे । विशेषत: उडले विलियम्सनलाई आउट पारेर टिमलाई खेलमा फर्काए ।

विलियम्सनले भने माने, उड निकै राम्रा बलर हुने । उनले भने, ‘आजको खेलमा उनले निकै राम्रो खेले । विशेषत: चोटपछि फेरि खेलमा फर्केर उनले राम्रो गरे,’ विलियम्सनले भने । हार विलियम्सनका लागि त्यति बेला अझ खराब रह्यो, जति बेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले उनले पाउने म्याच फीको ४० प्रतिशत जरिवाना गर्ने निर्णय पनि गरेको छ । सुस्त गतिले बलिङ गरेको आरोपमा न्युजिल्यान्डका खेलाडीको म्याच फीबाट पनि थप २० प्रतिशत जरिवाना गरिएको छ ।

थप अरु